आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

हामीले भुल्दै गएका संस्कार र संस्कृतिहरु



हिन्दू धर्मका संस्कारहरु
हिन्दू धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए । समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको वर्णन गरीएको छ ।

हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ । विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ । यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता, हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।

१. गर्भाधान संस्कार
हिन्दू संस्कारमा मान्य सोह्र संस्कारहरुमध्ये सबैभन्दा पहिलो संस्कार गर्भाधान संस्कार हो । गृहस्थ जीवनमा प्रवेश पश्चात प्रथम कर्तव्यको रुपमा यो संस्कारलाई मान्यता दिइएको छ । गृहस्थ जीवनको प्रमुख उद्देश्य भनेको उत्तम वंशोत्पत्ती हो । विकृत शारिरिक,मानसिक,संस्कृति र संस्कारका वावजुद श्रेष्ठ सन्तानोत्पत्ती असम्भवप्रायः हुन्छ अतः उत्तम सन्तान्तको चाहना राख्ने मातापिताको गर्भाधानपूर्व आफ्नो तन–मनको पवित्रताको लागी यो संस्कार गर्ने गरीन्छ । वैदिककालमा यो संस्कारलाई अति महत्वका साथ पालन गर्ने गरिन्थ्यो । आजभोली यो संस्कारलाई उतिसारो पछ्याएको देखिन्न ।
२. पुंसवन संस्कार
हिन्दूशास्त्रको दोस्रो महत्वपूर्ण संस्कारको रुपमा पुंसवन संस्कारलाई लिइएको छ । गर्भमा विकसित अवस्थामा रहेको शिशुको मानसिक विकासको दृष्टिले यो संस्कार उपयोगी संस्कार बुझिएको छ । शास्त्रअनुसार गर्भाधान भएको दोस्रो वा तेस्रो महिनामा यो संस्कार गर्ने गरिन्छ । गर्भमा स्वस्थ एवं उत्तम सन्तानको विकास होस् भन्ने अभिष्टले पुंसवन संस्कार गरीन्छ । गर्भस्थ शिशुसँग सम्बन्धित यो संस्कार शुभ नक्षत्रमा सम्पन्न गरिन्छ ।
३. सीमन्तोन्नयत संस्कार 
अन्तर्गर्भ संस्कारको तेस्रो महत्वपूर्ण संस्कारको रुपमा सीमन्तोन्नयन अथवा सीमन्त संस्कार गरीन्छ । गर्भमा विकसित शिशुलाई अत्यन्त सौभाग्य सम्पन्न बनाउनु यो संस्कारको अभिप्राय हो । सीमन्तोन्नयन संस्कार गर्भपात रोक्न, गर्भस्थ शिशु एवं आमाको रक्षार्थ पनि महत्वपूर्ण मानिएको छ । गर्भवती आमाको मन प्रशन्न, स्वस्थ शरिर तथा स्वच्छ मानसिकता भएमा गर्भस्थ शिशुपनि सोही अनुसार विकसित हुने वैज्ञानिक मान्यतामा यो संस्कार गर्भवती आमा र शिशु दुवैको लागि लाभदायक मानिएको छ । गर्भधारणको छैठौं अथवा आठौँ महिनामा यो संस्कार गरीन्छ । 
४. जातकर्म संस्कार
जातकर्म संस्कार शिशुको नालच्छेदनपूर्व गर्ने विधान रहेको छ । यो संस्कार गर्दा यो दैवि जगत्को प्रत्यक्ष सम्पर्कमा आउने नवजात शिशुलाई अन्त्यन्त बल, बुद्धि, सौभाग्य र दीर्घायु प्राप्त होस् भनी वैदिक मन्त्रोच्चारणका घिऊ र महको समिश्रण चटाइन्छ । यो संस्कार अति विशेष मन्त्र र विधिका साथ गर्ने चलन रहेको छ । नवजात शिशुका पिताले विषेश मन्त्र सहित शिशु बुद्धिमान, बलवान, स्वस्थ, दीर्घजीवनका लागि प्रार्थना गर्छन तत्पश्चात आमाले स्तनपान गराउँछीन ।
५. नामांकरण (न्वारान)
सामान्यरुपमा न्वारान भनिने यो चलन शिशु जन्मेको ११ औं दिनमा गर्ने गरीन्छ । परापूर्वकालदेखि शिशु जन्मेको १० औं दिनसम्मलाई सुतक मानिन्छ तसर्थ ११ औं दिनमा यो संस्कार गर्ने चलन छ । कर्मकाण्ड र महर्षीहरु यो संस्कार शुभ नक्षत्र वा शुभ दिनमा गर्नु उचित मान्छन् । नामको हाम्रो जीवनमा धेरै महत्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले नामको महत्व रहेको छ । ज्योतिष शास्त्रले नाम कै आधारमा भविष्यको रुपरेखा तयार गर्दछ । हिन्दू शास्त्रमा शिशुको जन्म तिथि, घडि, पला, नक्षत्र, समय र स्थान आदीलाई आधार मानेर नामांकरण गर्ने चलन रहेको छ ।
६. निष्क्रमण संस्कार
नवजात शिशुको यस दैविजगतमा आगमन पश्चात यसप्रति प्रगाढता बढाउनु तथा परम्ब्रम्हाको नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यो संस्कारको प्रमुख उद्देश्य हो । निष्क्रमणको अर्थ हुन्छ बाहिर निस्कनु । यो संस्कारमा नवजात शिशुलाई चन्द्रमा र सूर्यको दर्शन गराइन्छ । शिशुलाई भगवान भाष्करको तेज र चन्द्रमाको शीतलताको अवगत गराई शिशुलाई भाष्कर झैं तेजश्वी र चन्द्रम झैं विनम्र बनाउने परिकल्पना गर्दै त्यस दिन देवी देवताहरुको दर्शन गराई दीर्घ एवं यशश्वी जीवनकोलागि आशिर्वाद ग्रहण गराइन्छ । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरिर तीन महिनासम्म बाहिरी वातावरण, घाम, हावा आदिसँग अनुकुल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखिन्छ । यसपछि शिशुलाई विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुन्छ । विशेषतः यो संस्कार शिशुलाई यो जगत, आफ्नो समाज, वातावरण र हरेक सामाजिक परिस्थितिसँग अवगत गराउनका लागि गरिन्छ ।
७. अन्नप्राशन
जव शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिकता र आहार मात्र शिशुको शारिरिक र मानसिक विकासमा प्रशस्त हुँदैन । उक्तकुरालाई ध्यानदिँदै अन्नप्राशन संस्कार गरीन्छ । जन्मने वित्तिकै शिशुको शरिरमा वाहिरी खाद्यान्न पचाउनसक्ने क्षमता हुँदैन । अन्नप्राशनको स्पष्ट अर्थ यो हो की शिशु अब पेय पदार्थ विषेशगरी आमाको दूधमा निर्भर नभई अन्न (जसलाई शास्त्रमा प्राण भनिएको छ ) ग्रहण गरी शारीरिक र मानसिक रुपमा आफूलाई बलबान र प्रवुद्ध बनाउन योग्य हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन, मन स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तःकरण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्व छ । हिन्दूधर्मका अनुयायीहरुले अन्नप्राशन जन्मको छैठौं महिनालाई उपयुक्त बताउँछन् । छैठौं महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरीन्छ । उक्त दिन खीर र मीठा मीठा मिष्ठान्न शिशुको अन्नग्रहणका लागि शुभ मानिन्छ । अमृतः क्षीरभोजनम् –हिन्दूशास्त्रमा खीरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ ।
८. चूडाकर्म (छेवार)
चूडाकर्म संस्कारलाई मुण्डन वा छेवार पनि भनिन्छ । शिशु नौ महिनासम्म गर्भमा रहँदाताका उत्पन्न केशमा अनेकौं किसिमका दूषित किटाणुहरु रहेका हुन्छन र जन्मको समयमा उत्पन्न अपवित्र केशलाई हटाई शिशुको प्रखर बनाउनु यो संस्कारको अभिप्राय रहेको छ । बालकको तीन या पाँचौ वर्षमा यो संस्कार गरिने विधान रहेको छ । यो संस्कारपछि बालको बौद्धिक विकास र शुभचिन्ताको परिकल्पना गरिन्छ । गर्भमा रहँदाका केशमा रहेको दोषलाई सफाया गर्नु यो संस्कारको उद्देश्य हो । ज्योतीष शास्त्रका अनुसार यो संस्कार शुभमुहूर्तमा बैदिक मंन्त्रोच्चारणका साथ सम्पन्न गरीन्छ ।
९. विद्यारम्भ संस्कार
हिन्दू संस्कारका क्रममा विद्यारम्भ संस्कारको विषयमा धर्माचार्यहरुको केही मतभिन्नता रहेको पाइन्छ । केही धर्माचार्यहरु विद्यारम्भ अन्नप्राशन पछि हुनुपर्छ भन्ने मान्यता राख्छन त केही चूडाकर्म संस्कारपछि विद्यारम्भ हुनुपर्दछ भन्ने मान्यतामा छन् । वास्तवमा अन्नप्राशनको उमेरमा शिशुमा बोल्न वा केही सिक्नसक्ने गरी शारीरिक वा मानसिक विकासभएको हुँदैन अतः यो संस्कार चूडाकर्मपछि गरे नै उपयुक्त हुने मान्यताले अग्रता पाएको देखिन्छ । नामबाट नै प्रष्ट छ की विद्यारम्भ भन्नाले विद्या आरम्भ गर्नु । विद्यारम्भ संस्कारको अभिप्राय बालकमा प्रारम्भिकस्तको शिक्षासँग परिचित गराउनु हो । प्राचिन समयमा जब गुरुकुलको परम्परा थियो उक्त समयमा गुरुकुलमा भर्नागर्नुृपूर्व घरमै मातापिता तथा गुरुजनबाट अक्षरबोध तथ मौखिकरुपमा श्लोक, पौराणिक कथा आदिको अभ्यास गराइन्थ्यो जसबाट बालकलाई गुरुकुलमा सिक्न कठिनाइ हुँदैन थियो । हिन्दू शास्त्र विद्यालाई प्राथमिता दिने शास्त्र हो । सा विद्या या विमुक्तये– अर्थात् विद्या नै त्यही चिज हो जसले मुक्ति दिलाउँछ । विद्या अथवा ज्ञान नै मनुष्यको आत्मिक उन्नतीको साधन हो । शुभ मुहूर्तमा नै विद्यारम्भ संस्कार गरिनु पर्दछ । हाम्रो समाजमा आजभोली सरस्वती पूजाका दिनबाट बालबालिकालाई विद्यारम्भ गराउने चलन रहेको देखिन्छ भने कहीँ कहीँ मुहूर्त निकालेर विद्यारम्भ गराएको समेत पाइन्छ ।
१०. कर्णवेध संस्कार
हिन्दूहरुका संस्कारहरु कुनै न कुनै कोणबाट वैज्ञानिक तवरबाट मुल्यांङ्कन वा प्रमाणित गरी प्रारम्भ भएको पाइन्छ । कर्णवेध संस्कारको आधार पनि विल्कुलै वैज्ञानिक नै रहेको छ । बालबालिकालाई शारिरिक व्यधिबाट रक्षा गर्नु यो संस्कारको मूल उद्देश्य हो । प्रकृति प्रदत्त हाम्रो शरिरका सबै अंगहरु उत्तिकै महत्वपूर्ण रहेका छन् । कान हाम्रो श्रवणद्वार हो । सम्पूर्ण श्रुतिहरु कानबाट नै हाम्रो मस्तिष्कमा पुग्दछन् । कर्णवेधन गर्नाले व्यधिहरुबाट सुरक्षित हुनुका साथै श्रवण शक्ति पनि बढ्छ यसका साथै कानमा आभूषण हाम्रो सौन्दर्यबोधको परिचायक पनि हो । यज्ञोपवीत संस्कारपूर्व यो संस्कार गरिने विधान छ । ज्योतिष शास्त्रका अनुसार शुक्ल पक्षको शुभ मुहुर्तमा यो संस्कार सम्पन्न गर्दा श्रेयष्कर हुन्छ ।
११. यज्ञोपवीत (उपनयन वा ब्रतबन्ध) संस्कार
यो संस्कार बौद्धिक विकासको लागि सर्वाधिक महत्वपूर्ण संस्कार हो । यो संस्कारमा धार्मिक र अध्यात्मिक उन्नतिको पूर्ण समावेश छ । यो संस्कारबाट हाम्रा ऋषिमुनीहरुले वेदमाता गायत्रीको आत्मासात् गर्ने प्रावधान दिएकाछन् । आधुनिक युगमा समेत गायत्रीमंत्रको विषेश शोध भइसकेको छ र उक्त सोधबाट गायत्री मंत्र सर्वाधिक शक्तिशाली मंत्र प्रमाणित भएको छ । यज्ञोपवीतम् परम् पवित्रम् – यज्ञोपवीत जसलाई हामी जनइ भन्छौ्रँ अत्यन्तै पवित्र छ । प्रजापतिले स्वाभाविकरुपमा यसको निर्माण गर्नुभएको हो । जनई हेर्दा सामान्य लागे पनि आयुबद्र्धक, बल र तेज प्रदान गर्ने सामथ्र्य राख्दछ । यो संस्कारलाई धर्मशास्त्रमा विषेशरुपले उल्लेख गरिएकोछ । जनइ धारणको वैज्ञानिक महत्व पनि रहेको छ । प्राचीनकालमा जब गुरुकुलको परम्परा थियो त्यससमयमा प्रायः आठ वर्षको उमेरमा यो संस्कार सम्पन्न गरिन्थ्यो । यो संस्कारपछि बालकलाई विषेश अध्ययनको लागि गुरुकुल पठाइन्थयो । यज्ञोपवीतबाट नै बालकलाई ब्रम्हचर्यको दीक्षा दिइन्थ्यो र जसको पालना गृहस्थाश्रम आउनुपूर्वसम्म गर्नु पर्दथ्यो । यो संस्कारको उद्देश्य संयमितता अपनाई आत्मिक विकासमा लागिरहन प्रेरित गर्नु हो ।
१२. वेदारम्भ संस्कार
यो संस्कार प्राचीन समयमा महत्वपूर्ण भए पनि समयको बद्लावसँगै लगभग विलुप्त भईसकेको छ । यो संस्कार ज्ञानआर्जनसँग सम्बन्धित छ । वेदको अर्थ हो ज्ञान र वेदारम्भको माध्यमबाट बालकलाई आफूभित्र ज्ञान र समाविष्ट गर्न शुरु गराउनु नै यो संस्कारको अभिप्राय हो । शास्त्रमा ज्ञानभन्दा ठूलो अर्को कुनै प्रकाश छैन भनिएको छ । यो स्पष्ट छ की प्राचीनकालमा यो संस्कार मानिसको जीवनमा विशेष महत्व राख्दथ्यो । यज्ञोपवीतपछि बालकलाई वेदहरुको अध्ययन एवं विशिष्ट ज्ञानहरुसँग परिचित गराउन योग्य आचार्यहरुको अभिभावकत्वमा गुरुकुल पठाइन्थ्यो । वेदारम्भ गर्नुभन्दा पहिा आचार्य आफ्ना शिष्यहरुको ब्रम्हचर्य व्रतको पालन एवं संयमित जीवन बाँच्ने प्रतिज्ञा गराई उक्तकुराको परीक्षा लिएपछि मात्र वेद अध्यापन गराउने गर्दथे । अंयमित जीवन, अनुशासनहीनहरुलाई वेद अध्ययनको आधिकारीकता दिईँदैन थियो । चारै वेदहरुलाई ज्ञानको अक्षुण्ण भण्डार मानिन्छ । आजभोली समेत वेदलाई ज्ञान र तथ्यको महान ग्रन्थका रुपमा पश्चिमीहरुले समेत अध्ययन गर्दछन् ।
१३. केशान्त संस्कार
आजभोली हिन्दू संस्कारका धेरै क्रम–उपक्रमहरु व्यस्तता र आधुनिकीकरणका वावजुद विलुप्तहुँदै गइरहेका छन् । केशान्त संस्कार गुरुकुलमा वेद अध्ययन पूरा गरेपछि आचार्यको समक्ष यो संस्कार गरिन्थ्यो । वस्तुतः यो संस्कार गुरुकुलबाट विदा लिने तथा गृहस्थाश्रममा प्रवेश गर्ने उपक्रम हो । वेद, पुराण एवं कर्मकाण्डमा पारंगत भएपछि ब्रम्हचारी शिष्यलाई समावर्तन संस्कारभन्दा पहिला केश मुण्डन गरी नुहाइ स्नातकको उपाधि दिइन्थ्यो । केशान्त संस्कार शुभमुहूर्तमा गरिन्छ ।
१४. समावर्तन
यो संस्कार परापूर्वकालदेखि चलिआएको संस्कार हो । यो संस्कारलाई आजभोली आधुनिकीकरण गरिएको छ । गुरुकुलबाट शिक्षा लिईसकेपछि विदाई लिनुपूर्व शिष्यको समावर्तन संस्कार हुने गर्दथ्यो । यो संस्कारभन्दा ठीक अगाडि ब्रम्हचारी शिष्यको केशान्त संस्कार हुन्थ्यो । समावर्तन संस्कारमा शिष्यलाई समावर्तनका लागि सुगन्धित पदार्थ एवं औषधियुक्त वेदीका उत्तरभागमा आठवटा घडाका जलले स्नान गर्ने विधि छ । यो स्नान विषेश मन्त्रोच्चारणका साथ गर्ने गरीन्छ । यसपछि यज्ञोपवीतका समयमा धारण गरिएका मेखला र दण्डलाई छोड्ने चलन छ । यस संस्कारपछि गुरु वा आचार्यहरुले शिष्यलाई विद्या स्नातकको उपाधि दिने गर्दथे । यो उपाधि पाएपछि शिष्य सगौरव गृहस्थाश्रममा प्रवेश गर्न आधिकारीक हुन्छन । संस्कारका समयमा सुन्दर वस्त्र एवं आभूषण धारण गरी आचार्य एवं गुरुजनबाट आशिर्वाद ग्रहण गरी आफ्नो घरतर्फ लाग्दथे । यो संस्कार आजभोली टाढा–टाढा वा आफ्नो इलाकाका स्कूल, कलेज अध्ययन गर्नजाने विद्यार्थीहरुले आफ्नो अध्ययनको चरण पूरा भएपछि विभिन्न कार्यक्रमहरु गरी आधुनिक रुपमा सम्पन्न गर्दछन् ।
१५. विवाह संस्कार
यो संस्कार परापूर्वकालदेखि नै स्त्री र पुरुष दुवैको लागि सर्वाधिक महत्वपूर्ण संस्कारको रुपमा रहिआएको छ । हिन्दू शास्त्रमा पुरुष यज्ञोपवीत संस्कारदेखी समावर्तन संस्कारसम्म ब्रम्हचर्य व्रतको पालनगर्ने हाम्रो शास्त्रमा विधान छ । प्राचीनसमयको वेदाध्ययन वा आजभोलीको स्नातकपछि जब युवकमा सामाजिक परम्परा निर्वाह गर्ने क्षमता र परिपक्वता आउँछ तव गृहस्थ धर्ममा समाजिक रुपमा प्रवेश गराइन्छ । लगभग पच्चीस वर्षसम्म ब्रम्हचर्यको व्रत पालना गरेपछि युवक परिणय सूत्र (विवाह बन्धन) मा बाँधिन्छ । शास्त्रमा आठ प्रकारका विवाहरुको उ्रल्लेख भएको पाइन्छ जसलाई यो ब्लगको यस अघिको प्रविष्टमा संक्षेप परिचय सहित उल्लेख गरिसकिएको छ । वैदिककालमा आठै प्रकारका विवाहका प्रथाहरु प्रचलित थिए । समय अनुसार विवाहका स्वरुपहरु बद्लिँदै गए । वैदिककालपूर्व जतिवेला हाम्रो समाज संगठित थिएन त्यो समयमा उच्छृंखल यौनाचारहरु हुने गर्दथे । ऋषिमुनीहरुले यो उच्छृंखलतालाई समाप्त गर्नकालागि विवाह संस्कारको स्थापना गरी समाजलाई संगठित, मर्यादित एवं नियमबद्ध गर्ने प्रयाहरु भएका थिए । आज उनिहरुको प्रयासकै परिणाम हाम्रो समाज सभ्य र सुसंस्कृत छ । पश्चिमी दर्शन भन्दा पवित्र र मर्यादित तवरमा विवाहका सामाजिक मान्यताहरु रहिरहेका छन् ।
१६. अन्त्येष्टि संस्कार
मृत्यु पश्चातहुने संस्कारलाई अत्येष्टि अथवा अग्नि परिग्रह संस्कार भनिन्छ । आत्मामा अग्निको आधान गर्नु नै अग्नी परिग्रह हो ।  मृत शरिरलाई विधिवत् क्रिया गरिसकेपछि मात्र जीवको अतृप्त वासना शान्त हुने कुरा धर्मशास्त्रको मान्यता रहेको छ । हिन्दू शास्त्रमा धेरै सहज ढंगले इहलोक र परलोकको परिकल्पना गरिएको छ । जब जीव शरीर धारण गरी इहलोक निवासी हुन्छौँ त्यतिवेला हामी विभिन्न कर्मका बन्धनमा हुन्छौँ । शरीरबाट प्राण छुटेपछि यो लोक छोडी त्यसपछिका विभिन्न परिकल्पनामा विभिन्न लोकका साथै मोक्ष प्राप्त गर्ने कुरा गरीन्छ । मानिसले आफ्नो कर्म अनुसारको फल भोग्नुपर्छ । यहि परिकल्पनाको आडमा मृत शरीरको विधिवत अग्निका साथ क्रिया हुन्छ । विभिन्न धर्ममा आ–आफनै तवरवाट मृत शरीरको अन्त्येष्टि गर्ने चलन छ । मृत शरीरलाई जमिनमा गाड्ने, नदी खोलामा बगाउने, टुक्रा–टुक्रा गरी चिल वा गिद्धलाई खुवाउने जस्ता चलनहरु चलिआएका छन् तर पर्यावरणीय दृष्टिले अग्निका साथ गरीने क्रिया राम्रो मानिएको छ ।
पर्यावरणीय दृष्टिले मनुष्यको अन्त्येष्टि पनि अहिलेको विश्वमा विकराल समस्याको रुपमा देखा परेको छ । विभिन्न धर्मावलम्बीहरुले मृत शरीरलाई जमीनमा गाड्ने र त्यसमाथि क्रंक्रिटका स–साना आधारहरु निर्माण गर्नाले भोलिको दिनमा समस्याको रुपलिने निश्चित प्रायः छ । हालै चिनमा त्यस्ता किसिमका निर्माण नगर्न र सकेसम्म वैकल्पिक तवरबाट मृतशरीरलाई शमन गर्ने विकल्पका रुपमा अग्निशमनलाई लिएको छ ।

स्रोत : हिन्दू संस्कार परिचय उल्लेख भएका विभिन्न वेव साइटहरु र स्वध्ययन


Share/Bookmark

1 सुझाव:

Paresh April 28, 2010 at 10:54 PM  

विचार र लेखको लागि धन्यवाद

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan