आयुर्वेद लगभग ५००० वर्ष पुरानो चिकित्सा विज्ञानसाथै आयुर्विज्ञानको प्राचिन पद्धति हो । यो आयुको वेद अर्थात् आयुको ज्ञान हो । जुन शास्त्रद्वारा आयुको ज्ञान दिईन्छ त्यसलाई आयुर्वेद भनिन्छ । शरीर, इन्द्रिय सत्व, अनि आत्माको संयोगलाई नै आयु भनिन्छ र आधुनिक शब्दमा यसैलाई जीवन भनिन्छ अनि प्राणयुक्त शरीरलाई जीवित भनिन्छ । जुन विद्याद्वारा आयुको बारेमा सबैप्रकारको तथ्यको ज्ञान हुनसक्छ वा जसको अनुसरण गर्दै दीर्घ आशुष्यको प्राप्ती हुनसक्छ त्यो तन्त्रलाई आयुर्वेद भनिन्छ । आयुर्वेद अथर्ववेदको उपवेद हो । आयुर्वेदले मानिस जीवित रहने विधि तथा यसको पूर्णविकासको उपायको बारेमा बताउँछ यसैले आयुर्वेद अन्य चिकित्सा पद्धतिजस्तो श्द्ध चिकित्सापद्धति मात्र होइन अपितु सम्पूर्ण आयुको ज्ञान हो । आयुर्वेदमा आयुको हित (पथ्य,आहार,विहार) अहित (हानिकार आहार विहार) रोगको निदान र व्याधिहरुको चिकित्सा गरिएको छ | हित आहार, सेवन एवं अहित आहार त्याग गर्ने हो भने मान्छे पूर्णरुपमा स्वस्थ रहन सक्छ । आयुर्वेदका अनुसार स्वस्थ्य व्यक्ति नै जीवनको चरम लक्ष्य, धर्म, अर्थ, काम, मोक्ष प्राप्ति गर्न सक्छ । पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष प्राप्तीको मुख्य साधन शरीर होे अतः विषेशरुपले शरीरको रक्षा गर्नुपर्छ । आयुर्वेदको प्रसिद्ध ग्रंथ भाव प्रकाशमा भनिएको छ जुन शास्त्रद्वारा आयुको ज्ञान, हित र अहित आहार विहारको ज्ञान, रोगव्याधि निदान तथा शमनको ज्ञान प्राप्ती गरिन्छ त्यस शास्त्रलाई आयुर्वेद भनिन्छ ।
|