आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं |

वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ


वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ 

हाम्रो दैनिक जीवनमा वास्तुको सकारात्मक वा नकारात्मक असर प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परिरहेको हुन्छ । मेहनत अनुसारको उन्नति प्रगती हुन नसक्नु, घर घरायसी सम्बन्धमा चिसोपना उत्पन्न हुनु, मानसिक चिन्ता, दीर्घरोग आदिको संक्रमणवाट लामो समयसम्म पीडित हुनु र छुटकारा पाउन नसक्नु साथै जीवनका अन्य विविध पाटाहरुमा समेत यसको प्रभाव रहेको हुन्छ । ब्रम्हाण्डमा रहेका दिशा, चुम्बकीय ध्रुव, विद्युतीय तरङ्ग, कस्मिक इनर्जी, हावाको वहाव, सूर्यको किरणजस्ता सर्वमान्य र दैनिक मानव जीवनमा प्रभावपार्ने तत्वहरुको गलत संयोजन भएमा हाम्रो जीवन नराम्रोसँग प्रभावित हुन्छ । यी तत्वहरुको सही संयोजन मिलाउन वास्तुशास्त्र र ज्योतीषशास्त्रको अध्ययन हुनु आवश्यक छ । यी शास्त्रहरुलाई विज्ञानले समेत मान्यता दिएको छ र प्रसस्त वैज्ञानिक कारणहरु, पुष्टिहरु र प्रमाणहरु रहेकाछन् । वास्तुको गलत प्रभाव रहेमा हामी आफैँले पनि समान्यरुपमा वास्तु अनुसार आफ्नो घर, अफिस, कारखाना वा उद्योगधन्दामा मेशीनरी सामान, फर्निचर इत्यादी उचित ठाउँमा छन कि छैनन् भनि अनुससन्धान गर्न सकिन्छ र यदी कुनै संरचनामा वास्तुदोष भए दोषमुक्त हुने उपाय समेत अवलम्वन गर्न सकिन्छ । अस्थायी वा स्थायीरुपमा गलत स्थानमा गरिएका निर्माण र त्यहाँ राखिएका वस्तुहरुबाट उत्पन्न हुने दोष मानव जीवनमा उत्तिकै प्रभावकारी हुन्छ । वास्तुशास्त्रमा आठवटा दिशाहरुको वर्णन पाइन्छ र यी आठै वटा दिशाहरु विषेशरुपले महत्वपूर्ण छन् । प्रत्येक दिशाको आफ्नो स्वामी हुन्छ र स्वामीअनुसार हामी गृहप्रयुक्त वस्तुहरु उचित दिशामा राख्ने गरीन्छ ।

वास्तुमा उल्लेख हुने दिशाहरु 

१. पूर्व
२. पश्चिम
३. उत्तर
४. दक्षिण
५. उत्तर पूर्व (ईशान कोण)
६. दक्षिण पूर्व (आग्नेय कोण)
७. उत्तर पश्चिम (वायव्य कोण )

८. दक्षिण पश्चिम (नैऋेत्य कोण)

वास्तुमा यिनै आठ दिशाको वर्णन र कार्य धेरै महत्वपूर्ण छन् । प्रत्येक दिशाको आफ्नो महत्व र कार्य रहेको हुन्छ । वास्तुशास्त्रमा उल्लेख गरिएका दिशा र पत्येक दिशाका स्वामी साथै प्रत्येक दिशामा रहने दोष र दोषबाट मुक्त रहने उपायहरु निम्नानुसार रहेका छन् ।

पूर्व ः घरको पूर्वको स्थान खुल्ला र हल्का हुनु आवश्यक छ । पूर्वदिशाको प्रतिनिधि स्वामी सूर्य हो र यो दिशामा दोष छ भने वंशवृद्धिमा वाधक हुने देखिन्छ । पूर्वदिशामा झ्याल वा मुख्य ढोकाको व्यवस्था हुनु राम्रो हुन्छ र पूर्वदिशामा रहेका झ्यालढोकाहरु ज्यादा खुल्ला राख्नु फलदायी हुन्छ । पढ्ने विद्याार्थीहरुका लागि पढ्दाको समय मुख पूर्वदिशातर्फ बनाइ पढ्ने र खाना पकाउँदा वा खाँदा पनि पूर्वमुख गरेर पकाउने खाने व्यवस्था हुनुपर्दछ । वास्तुमा पूर्वस्थानको दोष भएमा पूर्वस्नाथमा ठूलो ऐना राखी सूर्यदेवताको चित्र वा यन्त्र राख्नुहोस् । विहान विहान सूर्य देवतालाई जल चढाई सूर्यदेवताको निम्न मन्त्रजाप गर्नुहोस्  ॐ ह्राँ ह्री ह्रौ सः सूर्याय नमः ।  

पश्चिम ः पश्चिम दिशाको स्वामी गृह शनि हो । यो स्थानमा गमला, वगैँचा वा रुख विरुवा लगाउन सकिन्छ । यो स्थान खाली नराख्दा राम्रो हुन्छ जति भरि राखिन्छ उति नै राम्रो फलप्राप्त हुन्छ । यो स्थानमा जमिनमुनि पानीको श्रोत वा फोहरा राख्न सकिन्छ । भारि वजनदार सामान यो दिशामा राख्न सकिन्छ । यो दिशामा दोष भएमा शनि यन्त्र राखी यो ॐ प्रां प्रिं प्रौं सः शन्ये नमः मन्त्रको जाप गर्ने गरेमा फल प्राप्ती हुन्छ ।

उत्तर ः उत्तर दिशाको स्वामी कुवेर वा लक्ष्मीजी हो । उत्तरदिशालाई मातृस्थान पनि भनिन्छ । यदि घरको उत्तरदिशामा दोष छ भने मातालाई कष्ट र धनसम्पत्तिको हानी नोक्सानी भईरहन्छ । यो भाग काटिएको हुनुहुन्न । यदि काटिएको छ भने एउटा ऐना उत्तरी भित्तामा लगाउनुहोस् । उत्तरी भित्तामा सुगाको फोटो लगार्ईएमा बच्चाबच्चीको पढाइमा जादूको झैं काम गर्छ । यदी धनसम्पत्तिको हानी भईरहेको छ भने माता लक्ष्मीजीको फोटो राखिएमा फाइदाजनक हुन्छ । यो दिशामा ज्यादा वजन भएका वस्तुहरु राख्नुहुँदैन । यो दिशालाई पनि पूर्व दिशा झैं हल्का राखिनु पर्दछ । यदि उत्तरी दिशामा दोष भएमा निवारणार्थ बुध यन्त्र, लक्ष्मी यन्त्र वा कुवेर यन्त्रमध्ये कुनै एक राखी यो ॐ ब्रां ब्रीं ब्रौ सः बुधये नमः मन्त्र जाप गर्नुहोस् ।      

दक्षिण ः दक्षिण दिशाको स्वामी मंगल हो । यो दिशामा घरका लागि प्रयोगहुने जस्तोसुकै भारी समान राख्न सकिन्छ । आलमारी, फ्रिज वा गमला इत्यादी राख्न यो दिशा उपयुक्त हुन्छ । यो दिशामा कदापी मुख्यद्वार बनाउनु हुँदैन । यो दिशामा दोष भएमा हनुमानजीको तस्वीर दक्षिण दिशामा लगाइ यो ॐ क्रां क्री क्रौ सः भौमाये नमः मन्त्रको जाप गर्नुपर्छ ।

उत्तरपूर्व ( ईशान कोण) ईशान दिशाका स्वामी गृह गुरु हो । यो स्थानमा स्नानधर हुनुपर्दछ । पानिको वहाव पनि यही दिशामा उत्तम हुन्छ । घरको मन्दिर यही दिशामा सर्वोपरी हुन्छ । यो दिशालाई सफासुग्गर राख्नुहोस् फोहोर हुन नदिनुहोस् कुनै कारण दूषित वा फोहर भएमा पनिको गाग्री यो दिशामा राख्नुहोस् वा ऋषिमुनीहरुको फोटा,े तस्वीर यो दिशामा लगाउनुहोस् र दोषमुक्तिका लागि यो ॐ ग्रां ग्रीं ग्रौ सः गुरुवे नमः  मन्त्रको जाप गर्नुहोस् ।

दक्षिण पूर्व (आग्नेय कोण) यो दिशाको स्वामी शुक्र हुन । यो दिशामा भान्साघर हुनु पर्दछ किन कि यो दिशामा अग्निको बास हुन्छ । यदि यो दिशामा दोष रहेमा स्वास्थ्य सम्बन्धि समस्या हुनसक्छ तथा शरीर कमजोर हुनसक्छ । यो दिशाको दोषमुक्त बनाउन यो दिशामा हवन गराउनु वा अग्निको तस्वीर वा शुक्र यन्त्रको स्थापना गरी ॐ द्रां द्रीं द्रौ सः शुक्राये नमः  मन्त्रको जाप गर्नुपर्दछ ।  

उत्तर पश्चिम (वायव्य कोण ) ः वायव्य दिशाको स्वामी चन्द्रमा हो । यो स्थानमा पानिको ट्याङ्की, माछाको एक्वारियम वा घर तथा पानिको फोहरा इत्यादि लगाउन सकिन्छ । यो दिशामा दोष रहेमा घुँडा वा कुहिनासँग सम्बन्धित दुखदर्द हुनसक्छ । वायव्य कोणको दोष शान्त गर्न श्वेत गणपति वा चन्द्र यन्त्र लगाइ यो ॐ श्रां श्री श्रौ सः चन्द्रमसे नमः मन्त्रको जाप गरेमा अत्यन्त फलदायी हुन्छ ।  

दक्षिण पश्चिम (नैऋेत्य कोण) ः यो दिशाको स्वामी राहु हो । यो दिशा हमेशा सुख्खा राख्नु राम्रो हुन्छ । यो दिशामा दोष रहेमा मानसिक चिन्ता, कुनै कार्य नबन्नु, गोडासँग सम्बन्धित रोगहरु हुन्छ । यो दिशामा स्टोर बनाउन सकिन्छ र निश्चय नै ज्यादा भारिवाला सामान राख्न सकिन्छ तर यहाँ घरपरिवारका सदस्यहरुको ज्यादा आवतजावत नभएको राम्रो । यदि यो दिशाको दोषबाट ग्रस्त भएमा राहुयन्त्र लगाउने र यो ॐ भ्रां भ्रीं भ्रौ सः राहुवे नमः  मन्त्रको जाप गर्नुहोस् |






Share/Bookmark

1 सुझाव:

kshitiz January 28, 2011 at 3:18 AM  

म धुलाबारी, बिर्तामोड, चारआली, काकरभिट्टा भरिमा
एक दक्ष वास्तुविदको खोजीमा छु । कृपया कोहि मलाई मद्दत गर्न सक्नुहुन्छ ?

Post a Comment

 

©2009 समावर्तन | Template Setting by Samawartan